मलंगवा — मनसुन सुरु भएसँगै सर्लाहीको मलंगवामा बाढी तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी अभ्यास गरिएको छ। मलंगवा नगरपालिका–९ स्थित जनसागर पोखरीमा कालीध्वज गण पाँचकुमारी ब्यारेकको अगुवाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा ‘अभ्यास मनसुन–५’ सम्पन्न गरेका हुन्। अभ्यासमा बाढी डुबानका बेला कसरी उद्धार गर्ने भन्ने विषयमा प्रत्यक्ष प्रदर्शन गरिएको थियो।
उक्त अभ्यासमा विद्यार्थी, स्थानीय बासिन्दा र सरोकारवाला निकायको सहभागिता रहेको थियो। प्रहरीका अनुसार जनसाधारणलाई जानकारी दिने उद्देश्यले यस्तो अभ्यास गरिएको हो। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले विपद् न्यूनीकरणका लागि सबै पक्ष चनाखो हुनुपर्नेमा जोड दिए। उनले सुरक्षा निकायहरु उद्धार, राहत र पुनःस्थापनामा पूर्ण तयार अवस्थामा रहेको बताए।

जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहले यो वर्ष बढी वर्षा हुने पूर्वानुमान भएकाले नदी किनार र डुबान जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरुलाई विशेष सतर्कता अपनाउन आग्रह गरे। यसअघि पनि नेपाली सेनाको मध्यपूर्वी पृतनाले बागमती नदीस्थित नुनथरमा प्रदेशस्तरीय विपद् पूर्वतयारी अभ्यास सम्पन्न गरेको थियो।





