सर्लाही – सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा नेपाली सेनाले निर्माण गरेको नयाँ बर्थिङ सेन्टर भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ। नेपाली सेना मध्य पूर्वी पृतना बर्दीवास महोत्तरीका पृतनापति उपरथि कृष्णबहादुर जिसीले शुक्रबार आयोजित कार्यक्रममा नगर प्रमुख कल्पनाकुमारी कटुवाललाई भवन हस्तान्तरण गर्नुभयो।
४५ लाख ९५ हजार रुपैयाँ लागतमा भैरवी दल गणले निर्माण गरेको चार कोठे बर्थिङ सेन्टरमा पोष्ट डेलिभरी, प्रि डेलिभरी, क्लिनिकल, रजिष्ट्रेसन तथा फार्मेसी कक्ष छन्। सेनाले डेलिभरी बेड, हस्पिटल बेड, भिजिटर चेयर, टेबललगायतका आवश्यक सामग्रीसमेत प्रदान गरेको छ। पृतनापति जिसीले ग्रामीण महिलाको सुरक्षित सुत्केरी सेवा सुनिश्चित गर्न सेनाले भवन निर्माण गरेको बताउनुभयो।

नगर प्रमुख कटुवालले आगामी आर्थिक वर्षको बजेटमा यसलाई प्राथमिकता दिँदै जनशक्ति र उपकरणको व्यवस्थाका लागि प्रतिबद्धता जनाउनुभयो। बर्थिङ सेन्टर सञ्चालनका प्रारम्भिक चरणमा दक्ष जनशक्ति सहयोग गर्न समेत सेनासँग आग्रह गरिएको छ। कार्यक्रममा नेपाली सेनाका उच्च अधिकृतहरू, नगर प्रतिनिधि र स्थानीय वासिन्दाको उपस्थिति थियो।





