लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनस्थित मुसहरी बस्तीमा आज साँझ विषाक्त फल खाँदा सात जना बालक एकै पटक बिरामी परेका छन्। घर नजिकैको नहर छेउमा खेल्ने क्रममा उनीहरूले स्थानीय भाषामा बगरेरा भनिने ‘एके प्लान्ट’ नामक काँचो फल खाएका थिए।
बिरामी पर्ने बालकहरूमा सत्यनारायण माझीका आठ वर्षीय छोरा बिराज, अजय माझीका आठ वर्षीय अमित र साँढे छ वर्षीय अजित, बिग्बा माझीका छ वर्षीय आर्यन, सुन्दर माझीका आठ वर्षीय अमन र १२ वर्षीय राहुल तथा शिवचरण माझीका आठ वर्षीय राजेश छन्।

अभिभावकहरू मजदुरीका लागि गाउँबाहिर गएको बेला बालबालिकाले उक्त विषाक्त फल खाएका थिए। फल खाएपछि एकपछि अर्को गर्दै उनीहरू बारम्बार वान्ता गर्न थालेपछि छिमेकीले नगर अस्पताल, लालबन्दी पुर्याएका थिए।
नगर अस्पताल लालबन्दीका डा. आलोक यादवका अनुसार ती बालकहरूले काँचो अवस्थाको एके प्लान्ट खाएकाले शरीरमा एक्कासी रगत र चिनीको मात्रा घटेको हो। “स्लाइन पानी र अन्य औषधीय सहयोगमार्फत उपचार भइरहेको छ, उनीहरूको अवस्था अहिले सुधारोन्मुख छ,” डा. यादवले बताए।
उक्त घटनापछि वडा नम्बर ४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आर्थिक अवस्था कमजोर रहेको मुसहर समुदायका बालकहरूको उपचारमा नगरपालिकाले समन्वय गरिरहेको जानकारी दिए। स्थानिय तह र स्वास्थ्यकर्मीको सक्रियतामा हाल सबै बालकहरूको स्वास्थ्य स्थिर रहेको जनाइएको छ।





