बलरा – शिक्षामा पहुँच र प्रोत्साहन बढाउने उद्देश्यले सर्लाहीको बलरा नगरपालिकाले कक्षा ११ मा अध्ययनरत ५५ छात्रालाई साईकल वितरण गरेको छ। नगरपालिकाको यो पहल गाउँटोलका किशोरीहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्ने प्रयासको रूपमा हेरिएको छ।
बलरा – ८ स्थित जनता नमुना माध्यमिक विद्यालयका ३७ जना र बलरा–११ स्थित सुधा राजेश्वर माध्यमिक विद्यालयका १८ जना छात्रा गरी जम्मा ५५ जनालाई नगरपालिकाले साईकल वितरण गरेको हो।

साईकल वितरण कार्यक्रममा संविधानसभा सदस्य शिवपुजन राय र बलरा नगर प्रमुख रामा शंकर प्रसाद कुश्वाहाले छात्राहरुलाई साईकल हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख कुश्वाहाले टाढा टाढाबाट दैनिक विद्यालय आउन जान बाध्य छात्राहरुलाई राहत दिने उद्देश्यले साईकल वितरण गरिएको बताए।
“टाढाबाट पैदल यात्रा गर्दा समय र ऊर्जा दुवै खेर जाने हुँदा पढाइमा असर परिरहेको थियो,” उनले भने, “अब साईकलले विद्यालय आउन जान सजिलो हुने र शिक्षामा सुधार आउने अपेक्षा गरेका छौं।”
प्रमुख कुश्वाहाका अनुसार मधेसको समाजमा अझै पनि छोरीहरूको शिक्षालाई दोस्रो प्राथमिकतामा राखिने प्रवृत्ति रहेको र गरिब परिवारका छोरीहरू सामुदायिक विद्यालयमा पढ्न बाध्य रहेको यथार्थलाई ध्यानमा राखी यस्तो पहल गरिएको हो।
“सामाजिक दृष्टिकोण बदल्न र गरिब तथा ग्रामीण समुदायका किशोरीहरूलाई प्रोत्साहन गर्न साईकल वितरण गरिएको हो,” उनले थपे। स्थानीय तहबाट गरिएको यस्तो पहलले छात्राहरुलाई शैक्षिक यात्रामा थप हौसला मिल्ने विश्वास गरिएको छ।





