सर्लाही — रौतहटको वृन्दावन नगरपालिका–७ मा ट्रयाक्टर पल्टिदा च्यापिएर चालकको मृत्यु भएको छ। खेतबाट गिट्टी लोड गरिएको ट्रयाक्टर सडकमा ल्याउने क्रममा अगाडिको भाग अचानक उठेपछि चालक स्टेरिङमै च्यापिएर गम्भीर घाइते भएका थिए।
मृतक २४ वर्षीय नजामोदिन मन्सुरी सोही वडाका स्थायी बासिन्दा हुन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीका अनुसार ना ४ त २०६८ नम्बरको ट्रयाक्टर वृन्दावन–७ को हुसेनीचोक र आकरपाथरबीचको भित्री सडक खण्डमा दुर्घटनाग्रस्त भएको हो।

अचानक अगाडिको भाग उठेपछि मन्सुरी ट्रयाक्टरको स्टेरिङमा च्यापिएर अचेत अवस्थामा भेटिएका थिए। उनलाई तत्काल उद्धार गरी चन्द्रपुर अस्पताल प्रालिमा लगिएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए।
दुर्घटनापछि ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।





