
सर्लाही – आइतबार बिहान रौतहटमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको गरुडा नगरपालिका–१, जयनगरमा आँगनमा बाँधेका बाख्रा खोल्ने क्रममा चट्याङ लागेर ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो।
प्रहरीका अनुसार चट्याङ लागेपछि बनिया बेहोस भएका थिए। उनलाई तत्कालै उपचारका लागि गौरस्थित प्रदेशिक अस्पताल लगिएको भए पनि बिहान करिब १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले बनियाको मृत्यु चट्याङको कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए।
स्थानीयवासीका अनुसार बिहानै देखिको बादल र मेघगर्जनपछि परेको चट्याङ्ग एक्कासि बनियाको शरीरमा लागेको थियो। प्राकृतिक विपत्तिका घटनाबाट सचेत रहन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।