
पर्सा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दायर भएको छ ।
वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको करोडौं रुपैयाँ अपचलन गरिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, पर्साले उनीहरूमाथि मुद्दा चलाएको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साले करिब एक महिनाअघि उक्त प्रकरणमा अनुसन्धान पूरा गरी अभियोग पुष्टि हुने प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र पेश गरेको हो ।
सहकारी ठगीको यही मुद्दाअन्तर्गत रवि लामिछाने अहिले पुर्पक्षका लागि थुनामा छन् । अदालतले यसअघि उनलाई थुनामा राख्ने आदेश दिएको थियो । बाँकी अन्य प्रतिवादीहरूमाथि पनि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
सरकारी वकिल कार्यालयका अनुसार, अभियोगपत्रमा पीडितको बचत रकम हिनामिना गरी दुरुपयोग गरिएको विवरण उल्लेख गरिएको छ । यस प्रकरणमा अन्य केही व्यक्तिहरूको संलग्नता बारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।