
सर्लाही – मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले शनिबार प्रदेशसभा बैठकमा सो बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्चतर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ। बजेट स्रोतका रूपमा प्रदेश सरकारले आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ।

त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदान ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदान ३९ करोड ४५ लाख र मपूरक अनुदान ३५ करोड ८२ लाख रुपैयाँ रहने उल्लेख गरिएको छ।
यसबाहेक राजस्व बाँडफाँडबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने योजना समेत बजेटमा समावेश गरिएको छ। मन्त्री यादवले सार्वजनिक बजेटमार्फत प्रदेशको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समावेशी विकासका क्षेत्रमा ध्यान दिइने बताएका छन्।