
सर्लाही – सर्लाहीको कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार बिहान लखन्देही खोलामा आएको बाढीले बाँध कटान गरेपछि ठूलो जोखिम उत्पन्न भएको छ। पहाडी क्षेत्रमा रातभरको भारी वर्षापछि खोलामा पानीको बहाव तीव्र भएपछि बाँध कमजोर बनेको हो।
स्थानीयवासीका अनुसार बाढीले बाँध कटान गर्न थालेपछि छपकैया क्षेत्रसहित मलंगवा नगरपालिका–६ स्थित खुटौना बस्तीसमेत डुबानको उच्च जोखिममा पुगेको छ। सम्भावित संकटलाई नियन्त्रण गर्न नेपाली सेनाको कालिध्वज गणका २५ जना जवानसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

गणपति तथा कालिध्वज गणका प्रमुख सेनानी गोबिन्द विष्टका अनुसार सुरक्षा टोलीले कटान सुरु गरेको स्थानमा तत्काल अस्थायी बाँध निर्माण गरी मर्मतको काम अघि बढाइएको छ। “बाढीको बहाव रोक्न र जोखिम न्यूनिकरण गर्न सेनाले सँगसँगै समन्वयकारी रूपमा काम गरिरहेको छ,” उनले बताए।
प्रत्येक वर्ष बर्खायाममा छपकैया क्षेत्रमा बाढीले कटान तथा डुबानको समस्या निम्त्याउने गरेकोमा यसपटक वर्षा सुरु भएसँगै संकटको संकेत देखिएको स्थानीयवासी बताउँछन्। अहिले पनि खोलाको बहावमा केही कमी आएको देखिए तापनि आगामी दिनमा भारी वर्षा भए थप क्षति हुन सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन्।
स्थानीय प्रशासन र सुरक्षा निकायहरू संभावित जोखिमप्रति सतर्क रहँदै आवश्यक पूर्वतयारीमा जुटेका छन्। लखन्देही र बागमती खोलामा आइतबार दिउँसोबाट भने पानीको बहाव केही घटेको छ।