काठमाडौंमा स्कुल भ्यानको ठक्करबाट सर्लाहीकी विद्यार्थीको मृत्यु

२०८२ असार २, सोमबार १७:२४
सांकेतिक तस्बिर

सर्लाही – काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित इडीफाई इन्टरनेशनल स्कुलको परिसरभित्र स्कुलकै माइक्रोभ्यानको ठक्करबाट एक छात्राको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीकी ९ वर्षीया सोनाक्षी यादव छन्, जो हाल काठमाडौंको कुलेश्वरमा बस्दै आएकी थिइन्।

उनी सोही स्कुलमा अध्ययनरत थिइन्। सोमबार दिउँसो भएको घटनामा गम्भीर घाइते भएकी सोनाक्षीको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा ६ जना घाइते भएका छन्।

तीमध्ये पाँच जनाको नेपाल नेशनल अस्पतालमा र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये भ्यान चालक पनि छन्, उनको समेत बयोधा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार