सर्लाही – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ। नियमित कार्यतालिका अनुसार एसईईको नतिजा असारको पहिलो साता प्रकाशित हुने अपेक्षा गरिएको थियो।
तर उत्तरपुस्तिका मूल्यांकन ढिलो भएका कारण यो मिति पछि सारिएको हो। गत चैत २० गतेदेखि करिब एक महिनासम्म शिक्षकहरूले आन्दोलन गरेका थिए। उनीहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण कार्यमा प्रत्यक्ष असर परेको बोर्डले जनाएको छ।

‘शिक्षकहरूले २९ दिनसम्म मूल्यांकन बहिस्कार गर्नुभयो,’ परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. गणेशप्रसाद भट्टराई भन्छन्, ‘त्यसमा आउजाउको दुई दिन थपियो। त्यसैले मूल्यांकन प्रक्रिया ढिलो सुरु भयो। अब असारको तेस्रो साताभन्दा अगाडि नतिजा सार्वजनिक सम्भव छैन।’
भट्टराईका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको छ। परीक्षण सम्पन्न भएपछि प्राप्ताङ्क विवरण सूचना प्रविधि प्रणालीमा प्रविष्ट गर्ने, त्रुटि जाँच गर्ने र अन्तिम रूपमा नतिजा तयार गरी सार्वजनिक गर्ने प्रक्रिया अघि बढ्नेछ। यसपालि करिब पाँच लाखभन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिएका थिए।





