नेपाली कांग्रेस र एमालेलाई संसद्को अवरोध नखुले हुन्थ्यो भन्ने चाहना छ: प्रचण्ड

२०८२ असार ३, मंगलवार १३:२२
फाईल तस्बिर

सर्लाही – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोधको पछाडि सरकारकै चाहना लुकेको दाबी गरेका छन्। मंगलबार चितवनमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) संसद्‌ अवरुद्ध नै रहोस् भन्ने मानसिकतामा रहेको टिप्पणी गरे।

“अहिले संसद्मा विचाराधीन कानुनहरूबारे काँग्रेस र एमालेले चाहे जेसुकै भनुन्, उनीहरू त्यसमा अघि बढ्ने पक्षमा छैनन्,” प्रचण्डले भने, “अवरोध नखुलोस् भन्ने चाहना सरकार नेतृत्वमै छ। यस्तो प्रवृत्तिले संविधान नै संकटमा पार्ने संकेत देखिएको छ।”

उनले संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन तथा सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी बाँकी कानुनी काम टुंग्याउने जिम्मेवारी आफूहरूको भएको बताए। “परिवर्तनको वाहक पार्टीको नेतृत्वमा रहेका कारण ऐन निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ,” उनले भने, “छानबिन नछाड्ने प्रतिबद्धता लिइसकेकाले हामीले अब ऐन निर्माण अघि बढाउनु जरुरी ठानेका छौं।”

प्रचण्डले ३० दिनभित्र छानबिन समिति गठन गर्ने सहमति भएपछिको सन्दर्भ उठाउँदै संसद्‌ सञ्चालनमा अवरोध नहुनुपर्ने धारणा राखे। विद्यालय शिक्षा ऐन असार १५ भित्र पास गर्न नसके शिक्षा क्षेत्र झनै अराजकतातिर धकेलिने चेतावनीसमेत उनले दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार