सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने

२०८२ असार ४, बुधबार २१:५८

सर्लाही – नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने ५० अर्ब ५१ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले रणनीतिक सडक सञ्जाल, व्यापारिक मार्ग र पुल सुधारका लागि उक्त ऋण लिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, उक्त रकम अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) मार्फत प्राप्त हुनेछ। उनले बताएअनुसार रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना अन्तर्गत करिब २९ अर्ब ७२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध हुनेछ।

त्यस्तै, पुल सुधार तथा कार्यक्रमको तेस्रो चरणमा खर्च गर्न थप २० अर्ब ७९ करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरिएको मन्त्री गुरुङले जानकारी दिए। यी आयोजनाहरू भौतिक पूर्वाधारमा लगानी गर्दै देशको यातायात प्रणाली सुधार गर्ने लक्ष्यसहित अगाडि बढाइएको सरकारको दाबी छ।

यसका अतिरिक्त, मन्त्रिपरिषद्ले दक्षिण कोरियाको सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि करिब एक अर्ब आठ करोड ८० लाख रुपैयाँ बराबरको अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार