मलंगवा – सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा गोरेटो बाटोको विवादले एक महिलाको मृत्यु भएको छ। कुटपिट गरि स्थानीय ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँका २७ वर्षीय राम अधिन रायलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बेलुकी भएको झगडामा राम अधिनले सासू राम दुलारी र उनकी बुहारीमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी राम दुलारीलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। तर उपचारको क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएकी बुहारीको भने हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। घटनाको मूल कारण गोरेटो बाटोसम्बन्धी विवाद रहेको बताइएको छ। घटनापछि पक्राउ परेका राम अधिनविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।





