सिरहामा प्रेम सम्बन्धको झगडाले उग्र रूप लिँदा छुरा प्रहार, दुवै घाइते

२०८२ असार ५, बिहीबार २१:०१

सर्लाही – सिरहाको गोलबजारमा प्रेम सम्बन्धका कारण उत्पन्न विवाद हिंसात्मक मोडमा पुगेपछि एक किशोरीले भनिएको आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छन्। गोलबजार नगरपालिका–१३ घर भई वडा नम्बर ४ मा बस्दै आएका २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन्।

उनीमाथि घरमै छुरा प्रहार भएको हो। हाल उनको स्थानीय भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। छुरा प्रहार गरेपछि भाग्न खोजेकी किशोरी आफैँ चिप्लिएर लड्दा घाइते भएकी थिइन्। उनलाई गोलबजारकै लाइफ लङ्ग अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला प्रहरी कार्यालय सिरहा लगिएको छ।

स्थानीयहरूका अनुसार ती किशोरी पछिल्ला दिनहरूमा पटक–पटक अशोकको डेरामा जान्थिन्। घटनाको दिन बिहीबार पनि उनी कोठामै पुगेकी थिइन्। केही समय बसेपछि अचानक छुरा प्रहार भएको देखिएको हो। हालसम्म घटनाको ठोस कारण खुलेको छैन।

प्रारम्भिक सूचनाका आधारमा युवकमाथि जबरजस्ती प्रयास भएको र त्यसपछि आत्मरक्षाका लागि किशोरीले चक्कु प्रयोग गरेको हुन सक्ने आशंका गरिएको छ। प्रयोग गरिएको चक्कु डेरामा रहेको तरकारी काट्ने चक्कु भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले घटना पुष्टि गर्दै अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्। पुलिसले दुबै पक्षको बयान र अन्य प्रमाणको आधारमा घटना के कारणबाट भयो भन्ने विषयमा थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार