रामनगर – सर्लाहीको रामनगर गाउँपालिका–६ स्थित बागमती माध्यमिक विद्यालय, सिसौटमा निर्माण सम्पन्न भएको नयाँ भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम तथा रामनगर गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको चारकोठे पक्की भवनको उद्घाटन गाउँपालिका अध्यक्ष राजाबाबु यादवले गरेका हुन्।

उद्घाटन समारोहमा अध्यक्ष यादवले विद्यालयको शैक्षिक वातावरणलाई अझ आकर्षक बनाउँदै शान्त, सुरक्षित र प्रभावकारी बनाउनेतर्फ आफू केन्द्रित रहेको बताए।
“अब छिट्टै विद्यालय परिसरमा बाउन्ड्रीवाल निर्माण गरी अनुशासित वातावरण कायम गरिनेछ,” उनले भने, “शिक्षाको गुणस्तर सुधार र भौतिक पूर्वाधार विस्तारमा कुनै सम्झौता हुने छैन।”
उक्त कार्यक्रममा वडा नं. ६ का अध्यक्ष गुदर साह, वडा नं. ७ का अध्यक्ष गौरी शंकर पण्डितसहित स्थानीय जनप्रतिनिधि, अभिभावक, बुद्धिजीवी, समाजसेवी र शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति थियो। विद्यालय प्रशासनले नवनिर्मित भवनले सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।





