अन्तर्राष्ट्रिय योग दिवस आज, विविध कार्यक्रमसहित नेपालमा पनि मनाइँदै

२०८२ असार ७, शनिबार ०६:३५
फाईल तस्बिर

सर्लाही — आत्मशुद्धि र मानसिक सन्तुलनका अमूल्य साधना योगको अन्तर्राष्ट्रिय महत्त्वलाई उजागर गर्दै आज नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा प्रस्तावित ‘अन्तर्राष्ट्रिय योग दिवस’ सन् २०१५ देखि हरेक वर्ष जुन २१ तारिख मनाउन थालिएको हो।

नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यस प्रस्तावमा पहिलो समर्थन जनाएका थिए भने यूरोपियन युनियनसहितका स्थायी सदस्य राष्ट्रहरूको साथ पाएपछि उक्त प्रस्ताव ऐतिहासिक रुपमा पारित भएको थियो। सन् २०१५ देखि जुन २१ लाई ‘योगका लागि विश्व एकता’ को प्रतीकका रुपमा ग्रहण गर्दै विश्वभर विभिन्न योग अभ्यास र जनचेतनाका कार्यक्रम हुँदै आएका छन्।

९० दिनमै १७७ देशले समर्थन जनाएर विश्वव्यापी मान्यता पाएको यो दिवसले योगप्रति बढ्दो वैश्विक आकर्षणलाई पनि देखाएको छ। नेपालमा भने योग दिवसको सुरुवात वैदिक परम्परासँग जोडिएको छ। वि.सं. २०३६ माघ १ गते सूर्य उत्तरायण सुरु हुने दिनलाई ध्यानमा राख्दै योग दिवस मनाउन थालिएको थियो।

योगलाई शैक्षिक धारामा पनि समेट्दै नेपाल संस्कृत विश्वविद्यालयले ६ महिनाको योग तथा प्राकृतिक चिकित्सा कार्यक्रम सञ्चालन गर्दै आएको छ। हिमालयको काखमा जन्मिएर विश्वभर फैलिएको योग परम्पराको पुनर्जागरण गर्न माघ १ लाई राष्ट्रिय योग दिवसको रुपमा घोषणा गर्न माग उठेको थियो। सोही अनुरूप नेपाल सरकारले वि.सं. २०७२ साउन २८ गते माघ १ लाई ‘राष्ट्रिय योग दिवस’को रुपमा घोषणा गर्‍यो।

यसरी, नेपालमा अहिले दुई योग दिवसहरू मनाइन्छन् माघ १ गते राष्ट्रिय योग दिवस र जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस। यी दिवसहरूले योग अभ्यासलाई जनस्तरसम्म पुर्‍याउन, मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पुर्‍याउन सघाउ पुर्‍याइरहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार