
सर्लाही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेतृत्व पुनःगठन गर्दै कविन्द्र बुर्लाकोटीलाई औपचारिक रूपमा महामन्त्रीको जिम्मेवारी दिएको छ।
यसअघि कार्यवाहकको भूमिकामा रहेका बुर्लाकोटीलाई केन्द्रीय समितिको आज बसेको बैठकले पूर्णकालीन महामन्त्री बनाउने निर्णय गरेको हो। तेस्रो स्थापना दिवसको अवसर पारेर बसेको केन्द्रीय बैठकले प्रवक्ताको जिम्मेवारी मनिष झालाई सुम्पिएको छ।

झा यसअघि कार्यवाहक प्रवक्ताको रूपमा क्रियाशील थिए। रास्वपाका अनुसार बैठकमा गरिएको निर्णय सार्वजनिक गर्न आज बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिनेछ। उक्त निर्णय निर्वाचन आयोगले डा. मुकुल ढकाललाई अझै महामन्त्रीको हैसियतमा रहेको पुष्टि गर्दै पत्र पठाएको भोलिपल्ट आएको हो।
आयोगले २०८० चैतयता पार्टीमा भएको जिम्मेवारी हेरफेरबारे जानकारी प्राप्त नभएको जनाउँदै ढकाललाई नै रेकर्डमा रहेको महामन्त्री मानेको थियो। यसैबीच, डा. ढकालले आफूविरुद्ध गरिएको कारबाही बदर गरिदिन माग गर्दै आयोगमा निवेदन दिएका थिए। तर, रास्वपाले आन्तरिक निर्णयमार्फत नेतृत्वमा स्पष्टता ल्याउने कोशिस गरेको देखिएको छ।