
सर्लाही – देशभर मनसुनको आगमनसँगै प्रमुख राजमार्गहरूमा सवारी आवागमनमा ठूलो प्रभाव परेको छ। नेपाल प्रहरीको शनिबार बिहान ११ बजेको अद्यावधिक विवरण अनुसार तीनवटा प्रमुख सडक पूर्णरूपमा अवरुद्ध भएका छन् भने छ वटा सडक खण्डमा सवारीसाधन एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा रहेको विनयी खोलाको डाइभर्सन बाढीले बगाउँदा सो क्षेत्रको सडक दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको हो। यसले पूर्व–पश्चिम यात्रामा समस्या निम्त्याएको छ।

त्यस्तै, पहिरोले रोल्पाको घोराही–रुकुम खण्डको शहीद राजमार्ग पूर्णरूपमा बन्द छ। पाल्पाको सिद्धार्थ राजमार्ग पनि पहिरोका कारण सम्पूर्ण रूपमा ठप्प भएको प्रहरीको भनाइ छ।
उता, डोल्पाको त्रिपुरासुन्दरी–१ स्थित छलघाटमा आएको बाढीका कारण भेरी कोरिडोर एकतर्फी सञ्चालन भइरहेको छ। जुम्लाको जुम्ला–मुगु सडक खण्ड पनि पहिरोका कारण एकतर्फी बनेको छ।
यस्तै, गुल्मी, नवलपरासी र म्याग्दीका कालिगण्डकी कोरिडोरहरू तथा म्याग्दीको बेनी–जोमसोम सडक र धनकुटाको रवि–राके–भेडेटार सडक खण्डमा पनि सवारी एकतर्फी मात्र चल्न पाएका छन्।
प्रहरीले यात्रु तथा सवारीधनीहरूलाई वर्षायाममा पहाडी र नदी आसपासका क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ। आवश्यक स्थानमा वैकल्पिक मार्गको प्रयोग गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न समेत अनुरोध गरिएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुम्किवास दाउन्ने खण्डमा ठूला र भारी मालबाहक सवारी सञ्चालनमा रोक लगाएको छ । दाउन्ने खण्डमा बर्षाको समयमा सडक चिप्लो र डाइभर्सनमा गाडी फस्ने समस्या भएपछि प्रशासनले यस्तो निर्णय गरेको जनाएको हो।
निर्माणाधीन नारायणघाट-बुटवल सडकको दुम्कीवासस्थित विनयी खोला पुलको डाईभर्सन पटक पटक बाढीले बगाउने गरेकाले निर्माणको अन्तिम चरणमा रहेको नयाँ पुल सञ्चालनमा नआउँदासम्म मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिइएको छ ।