
जनकपुर – भारतले इरानमा अलपत्र परेका नेपाल र श्रीलंकाका नागरिकहरूको उद्धारमा हातेमालो गर्ने घोषणा गरेको छ। इरानस्थित भारतीय दूतावासले दुई छिमेकी देशहरू नेपाल र श्रीलंकाको अनुरोधमा त्यहाँ फसेका नागरिकलाई सुरक्षित रुपमा स्वदेश फर्काउने प्रकृयामा सहयोग गर्ने जनाएको हो।
भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपाल र श्रीलंका सरकारको औपचारिक अनुरोधका आधारमा, इरानमा रहेका ती मुलुकका नागरिकहरूको उद्धारमा भारत सहकार्य गर्न तत्पर छ।”

यस सन्दर्भमा, दूतावासले इरानमा रहेका नेपाली तथा श्रीलंकाली नागरिकलाई आवश्यक जानकारी र उद्धारसम्बन्धी समन्वय गर्नका लागि आफूसँग सम्पर्क गर्न आह्वान गरेको छ। साथै, जानकारी आदानप्रदान सहज बनाउने उद्देश्यले एक विशेष टेलिग्राम च्यानल तथा तीनवटा आपतकालीन नम्बर (+९८९०१०१४४५५७; +९८९१२८१०९११५; +९८९१२८१०९१०९) समेत सार्वजनिक गरिएको छ।