बरहथवामा झडप: प्रहरीसहित १० जना घाइते, पूर्व वडाध्यक्षसहित ७ जना पक्राउ

२०८२ असार ७, शनिबार १५:१९

मलंगवा – सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरा टोलमा शनिबार बिहान सडक विस्तारका क्रममा चर्किएको विवादले उग्ररुप लिँदा प्रहरीसहित १० जना घाइते भएका छन्।

झडप नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको थियो। इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेश र वरिष्ठ हवल्दार प्रमेश्वर राय यादवसमेत घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय टीकाबहादुर कार्की, कुलबहादुर कार्की, रमेश महतो कोहरी, उनकी पत्नी इन्दु देवी, छोरा अनिल र प्रदीपकुमार कुशवाहा, उमेश महतो तथा बरहथवा–१४ का सञ्जय कुशवाहा पनि घाइते भएका हुन्। इन्स्पेक्टर गणेश र सञ्जय कुशवाहाको प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने गम्भीर घाइते कुलबहादुर र टीकाबहादुरलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

अन्य घाइतेको बरहथवा नगर अस्पताल र बलरा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र अचलगढमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ। घटनापछि प्रहरीले अनुसन्धानको सिलसिलामा बरहथवा–४ का पूर्व वडाध्यक्ष लखेन्द्र महतोसहित सात जनालाई नियन्त्रणमा लिएको छ।

स्थानीय बासिन्दा अनुसार सडक विस्तार गर्दा आफ्नो जग्गा मिचिएको भन्दै केही दिनयता विवाद हुँदै आएको थियो। केही दिनअघि एक महिलाले विरोधस्वरूप ढलान भइरहेको सडकमा लम्पसार परेर अवरोध गरेकी थिइन्। उनलाई केही व्यक्तिले जबर्जस्ती हटाएपछि तनाव झनै चुलिएको थियो।

शनिबार बिहान विवादले झडपको रुप लिँदा दुवै पक्षबाट बाँसको भाठा र ढुंगा प्रयोग गरिएको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार घटनास्थलमा पर्याप्त संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ र प्रहरीको उपस्थिति तथा हवाई फायरले झन ठूलो घटना हुनबाट जोगिएको छ।

बरहथवा–४ का वडाध्यक्ष कृष्णकुमार साहका अनुसार स्थानीय मागअनुसार १११ मिटर सडक ढलानका लागि वडा कार्यालयले सात लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। ढलान रोकिएको अवस्थामा एक्कासी बाहिरी व्यक्तिहरू आएसँगै झडप भएको र घटनाको गहिरो छानबिन गरिनुपर्ने उनको माग छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार