सर्लाही – मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय आवागमनलाई सहज बनाउँदै व्यापार, पर्यटन र समग्र क्षेत्रीय समृद्धिलाई जोड्ने अभियान सुरु गर्ने घोषणा गरेको छ। उक्त अभियानको थालनी लहान नगरपालिकाबाट गरिने भएको छ।
शुक्रबार लहान नगरपालिकाको १६औँ नगरसभा उद्घाटन समारोहमा बोल्दै मधेस प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले लहानको उत्तरी भेगमा अवस्थित धार्मिक तथा पर्यटकीय महत्वको काब्रे महादेव क्षेत्रलाई कोशी प्रदेशअन्तर्गत उदयपुर जिल्लासँग जोड्ने सडक निर्माणको योजना अघि सार्ने जानकारी दिनुभयो।

“यस मार्गमार्फत अन्तरप्रदेशीय पहुँचलाई सहज बनाएर व्यापार–व्यवसायमा गति दिनुका साथै धार्मिक पर्यटनको पनि विस्तार हुनेछ,” मन्त्री यादवले स्पष्ट पार्नुभयो। उहाँले सडक पूर्वाधारले प्रदेशको आर्थिक स्वरूपलाई मजबुत बनाउने उल्लेख गर्दै स्थानीय उत्पादन बजारसम्म पु¥याउने मार्गको प्रभावकारी भूमिकाको चर्चा गर्नुभयो।
लहान नगरपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति सराहना व्यक्त गर्दै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता प्राथमिक क्षेत्रहरूमा आएको योजनामा प्रदेश सरकारको सक्रिय साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, लहानको खुट्टी नहर पुनःसञ्चालनका विषयमा बजेट समेटिएको छैन भन्ने आलोचना उठिरहेका बेला मन्त्री यादवले रकमान्तर गरेर भए पनि आवश्यक रकम जुटाइने विश्वास दिलाउनुभयो। “किसानको आवाज उपेक्षा गरिन्न,” मन्त्री यादवको प्रष्ट भनाइ थियो।
लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु. १ अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ। यो बजेट मधेस प्रदेशका सबैभन्दा ठूलो २४ वडा भएको नगरपालिकाले प्रस्तुत गरेको हो।





