बरहथवा झडप प्रकरण: ६ जनाविरुद्ध ज्यान मार्ने उद्योग, बाटो विस्तार स्थगित

२०८२ असार ८, आईतवार २०:२७

मलंगवा – सर्लाहीको बरहथवा नगरपालिका–४, खैरा टोलमा बाटो विस्तारका कारण चर्किएको विवाद झडपमा परिणत भएपछि प्रहरीले सात जनाविरुद्ध मुद्दा दायर गर्दै म्याद थप गरेको छ।

जिल्ला अदालत सर्लाहीले झडपमा संलग्न मध्ये ६ जनालाई ज्यान मार्ने उद्योग अभियोगमा पाँच दिन र एक जनालाई अभद्र व्यवहार अभियोगमा सात दिनको म्याद दिएर थप अनुसन्धानको अनुमति दिएको हो।

पक्राउ पर्नेहरूमा पूर्व वडाध्यक्ष लखेन्द्र महतो, रीता कटुवाल, रञ्जित महतो, सन्तोषकुमार कुशवाहा, अभिषेक महतो र अरविन्दकुमार साह छन्। यिनीहरू सबैमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान हुँदैछ। ढुङ्गामुढा प्रकरणमा संलग्न स्थानीय शिशिर कार्कीमाथि भने अभद्र व्यवहारको मुद्दा लगाइएको छ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार, सातैजना हाल प्रहरी हिरासतमा छन् र अनुसन्धान तीव्र पारिएको छ। झडपका क्रममा दुई प्रहरीसहित आठ जना घाइते भएका थिए। घाइतेमध्ये राजधानीमा थप उपचार गराइरहेका ५० बर्षिय टीकाबहादुर कार्की र ५२ बर्षिय कुलबहादुर कार्कीलाई पनि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

विवादित सडक विस्तारका लागि स्थानीय वडा कार्यालयले चालु आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर खैरा टोलका एक परिवारले “एकलौटी रूपमा हाम्रो जग्गा मिचिएको” भन्दै विरोध जनाउँदै आएका थिए।

उक्त उजुरीका आधारमा उच्च अदालत जनकपुरले जग्गा धनीको अनुमति बिना सडक निर्माण रोक्नू भनी आदेश दिइसकेको थियो। यद्यपि, त्यसको अवज्ञा गर्दै काम अघि बढाइँदा हिंसात्मक झडप भएको हो। झडपपछि अहिले सडक विस्तार कार्य पूर्णरूपमा स्थगित भएको छ। स्थानीय तनाव कायमै छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार