पर्सामा एक महिलाको घाँटी थिचेर हत्या, श्रीमान पक्राउ

२०८२ असार ९, सोमबार ०८:१६
सांकेतिक तस्बिर

सर्लाही – पर्साको जगरनाथपुर गाउँपालिका–४ का ३५ वर्षीय सफिराजा मियाँलाई आफ्नै श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। शनिबार राति भएको घटनापछि उनलाई आइतबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार मियाँलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा लामो समयदेखि दम्पतीबीच मनमुटाव रहँदै आएको, बोलचाल समेत नभएको र घरायसी विवाद चरम अवस्थामा पुगेको देखिएको प्रहरीले जनाएको छ।

“श्रीमान् वैदेशिक रोजगारीबाट घर फर्किएपछि श्रीमतीको व्यवहार प्रति असन्तुष्ट रहेका थिए,” डीएसपी लम्सालले भने, “विवाहिक सम्बन्धमा चिसोपन र रिसको आवेगका कारण उनले यस्तो जघन्य अपराध गरेको प्रारम्भिक बुझाइ छ।” प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रमाण संकलन गर्दै अनुसन्धान तीव्र पारेको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार