सर्लाही – सर्लाहीको चक्रघट्टा गाउँपालिका–१, औरही निवासी चन्दन साहले विद्युतमा चल्ने बाइक बनाउँदै मधेस प्रदेशमा नवप्रवर्तनको उदाहरण प्रस्तुत गरेका छन्। कक्षा १० मा अध्ययनरत १६ वर्षीय चन्दनले जम्मा ३० हजार रुपैयाँको लागतमा वातावरणमैत्री इभी (इलेक्ट्रिक) बाइक तयार पारेका हुन्, जसले पेट्रोलियम इन्धनको विकल्पका रूपमा व्यावहारिक समाधान दिएको छ।
लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित आइडियल को-एड एकेडेमीका छात्र चन्दनले निर्माण गरेको बाइक एक पटक चार्ज गरेपछि ६० किलोमिटरसम्म कुद्न सक्छ, र तीन घण्टामै पूर्ण चार्ज हुन्छ। उनले आफ्नै प्रयास र प्रयोगात्मक ज्ञानको प्रयोग गर्दै यो काम सम्पन्न गरेका हुन्। केहि दिन अघि उनि अध्यनरत विद्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर चन्दनले निर्माण गरेको बाइकको प्रदर्शन गरिएको थियो।

सार्वजनिक परीक्षण सफल भएपछि कार्यक्रममा सहभागी शिक्षक, अभिभावक, विद्यार्थी तथा अतिथिहरूले उनको प्रयासलाई खुलेर प्रशंसा गरेका छन्। उक्त विद्यालय यसअघि पनि प्राविधिक नवप्रयोगका कारण चर्चामा आएको थियो। कक्षा ११ र १२ का विद्यार्थीहरूले बनाएको ‘बोल्ने र हिँड्ने रोबोट’ र ‘इभी ट्याक्टर’ मधेसकै पहिलो थिए।
प्रधानाध्यापक राजु पंजियारले चन्दनको सफलतालाई विद्यालयको व्यवहारिक शिक्षण प्रणालीको उपलब्धि भन्दै भविष्यमा अझ यस्ता प्रोजेक्टलाई प्राथमिकता दिने बताए। चन्दनको सपना अझ ठूलो छ। उनले भविष्यमा सबै भूभागमा उपयोगी हुने विद्युतीय सवारी उत्पादन गर्ने कारखाना खोल्ने योजना रहेको बताएका छन्। प्रतिभामा पखेटा लागे स्रोतसाधन र प्रोत्साहनको सहारा हुनुपर्छ भन्ने कुराको उदाहरण चन्दन साह स्वयं हुन्।





