सर्लाहीका ९ पालिकामा आज एकै दिन नीति तथा कार्यक्रम प्रस्तुत

२०८२ असार ९, सोमबार १९:४७

गोडैता – स्थानीय तहको कार्यसम्पादनमा सक्रियता देखाउँदै सर्लाही जिल्लाका नौ वटा पालिकाले आज (आइतबार) एकै दिन आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

देशभरकै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा गोडैता, हरिपूर्वा, हरिपुर र बरहथवा नगरपालिका तथा रामनगर, धनकौल, विष्णु, चन्द्रनगर र बसबरिया गाउँपालिकाले गाउँ तथा नगरसभाबाट अनुमानित बजेटसहित नीति, कार्यक्रम सार्वजनिक गरेका हुन्।

गोडैतामा नगरप्रमुख देवेन्द्रकुमार यादव, हरिपूर्वामा नगरप्रमुख विनोदकुमार साह तेलीका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, हरिपुरमा नगरप्रमुख गोपाल पजियार र बरहथवामा नगरप्रमुख कल्पनाकुमारी कटुवालले आफ्नो पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरे।

त्यस्तै, रामनगर गाउँपालिकामा अध्यक्ष राराजाबाबु यादव, धनकौलमा राम आश्रय साह, विष्णुमा जवाहारलाल यादव, चन्द्रनगरमा राजकुमार महतो र बसबरियामा रामसिंहासन राय यादवले नेतृत्वदायी भूमिकामा नीति तथा कार्यक्रम प्रस्तुत गरे।

यसअघि नै बागमती, बलरा, लालबन्दी नगरपालिकासहित कौडेना र चक्रघट्टा गाउँपालिकाले नीति तथा कार्यक्रम पेश गरिसकेका छन्। अब बाँकी रहेका ईश्वरपुर, मलंगवा, कविलासी, हरिवन, पर्सा र ब्रह्मपुरी पालिकाले भोली ( सोमबार ) नीति तथा कार्यक्रम ल्याउने तयारीमा छन्।

अघिल्ला पटकका जनप्रतिनिधि र अहिले रहेका जनप्रतिनिधिको पहिलो कार्यकालमा बारम्बार तनाव भएर आर्थिक वर्षको अन्तिमतिर मात्रै बजेट पारित हुने गरेका यहाँका अधिकाँश स्थानीय तहले यसपटक समयमै नीति तथा कार्यक्रम प्रस्तुत गरी सुधारको संकेत दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार