सर्लाही – सरकारद्वारा मुलुकभरिका १४ जना किसानलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ। राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातवटै प्रदेशबाट छानिएका १४ किसानलाई जनही २ लाख रुपैयाँ नगदसहित सम्मानित गरे।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशबाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म), मधेस प्रदेशबाट भरतकुमार यादव (शम्भुनाथ माछा फर्म) र हिराबहादुर थापा मगर (निजगढ केरा एग्रिकल्चर), बागमती प्रदेशबाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसी (ग्रिनलाइन एग्रो प्रालि), गण्डकी प्रदेशबाट छिरिङढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म), लुम्बिनी प्रदेशबाट जयपाल मौर्य (खाद्यान्न बाली) र सुवास कुर्मी (शान्ति उन्नत पशुपालन तथा माछा फर्म), कर्णाली प्रदेशबाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती), तथा सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्रालि) सम्मानित भएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषिमा आधारित स्टार्टअप कार्यक्रम सञ्चालन गरी युवालाई आर्कषित गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए। उनले बीउबिजन र मलको समयमै आपूर्ति, बजारीकरणको व्यवस्था, प्रविधिको पहुँच, सहुलियत कर्जा र कृषि बीमाजस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरे।
कृषिमन्त्री रामनाथ अधिकारीले ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१’ अनुसार छानिएका किसानलाई पुरस्कृत गरिएको जानकारी दिए। उनले उत्कृष्ट कृषक सम्मानले कृषि पेसाप्रति सम्मान र प्रेरणा बढाएको बताए।





