सर्लाही – गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन पुगेका सर्वसाधारणलाई छिटो काम गराइदिन्छौं भन्दै हैरानी दिने ६ जना विचौलिया काठमाडौँ प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरि नगरपालिका–६ का २९ वर्षीय विकास तामाङ, सोही नगरपालिकाको ८ नम्बर वडामा बसोबास गर्ने मकवानपुरगढी गाउँपालिका–१ का २५ वर्षीय सुशील अधिकारी, सर्लाही बरहथवा नगरपालिका–९ का २४ वर्षीय अनिश ठकुरी, मकवानपुरका १९ वर्षीय छिरिङ लो, धादिङ थाक्रे गाउँपालिका–२ का २७ वर्षीय मनोज तामाङ र गोरखा सिरानचोक–७ का २४ वर्षीय राजीव खत्री छन्।

प्रहरीका अनुसार असार ९ गते गुर्जुधारा मोटरसाइकल यातायात कार्यालयमा आएका सेवा ग्राहीलाई छिटो काम गराइदिने बहानामा उनीहरूले अनावश्यक दबाब दिँदै हैरानी गर्ने कार्य गर्दै आएका थिए।
उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए।





