सबैभन्दा बढी स्थानीय तह भएको सर्लाहीमा कति स्थानीय तहले ल्याउन सकेनन् असार १० भित्र बजेट ?

२०८२ असार ११, बुधबार ०६:१५
सांकेतिक तस्बिर

मलंगवा – सर्लाही जिल्लाका अधिकांश पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सर्वाङ्गीण विकासको खाका प्रस्तुत गरेका छन्। जिल्लाका २० स्थानीय तहमध्ये १९ पालिकाले तोकिएको मितिमा गाउँसभा तथा नगरसभा सम्पन्न गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

मलंगवा, गोडैता, कविलासी, ब्रह्मपुरी, चन्द्रनगर लगायतका नगर तथा गाउँपालिकाहरूले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, सामाजिक सुरक्षा, वातावरण संरक्षण लगायतका विषयलाई प्राथमिकता दिँदै समावेशी तथा समतामूलक विकासको प्रतिबद्धता जनाएका छन्।

पालिकाहरूले प्रस्तुत गरेका नीति तथा कार्यक्रम पारदर्शिता, जनसहभागिता र सुशासनलाई आधार बनाउँदै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। अघिल्ला आर्थिक वर्षमा निकै विवाद भएका पालिकाले यो वर्ष समयमै नीति, कार्यक्रम प्रस्तुत गरेका छन् ।

यस बर्ष भने पर्सा गाउँपालिकाले आन्तरिक तयारीको अभावका कारण निर्धारित मितिमा सभा सम्पन्न गर्न सकेन। आन्तरिक तयारी अभाव र व्यवस्थापनको कमजोरीका कारण पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्न नसकेको बताइएको छ। अब पालिकाले सकेसम्म चाँडो सभा आह्वान गरी नीति तथा कार्यक्रम तथा बजेट पारित गर्ने बुझिएको छ।

कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याउनुपर्छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ७१ (१) ले ‘गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) असार महिनाको दश गतेभित्र सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नु पर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

यही कानुनी बाध्यता पूरा गर्दै अधिकांश स्थानीय तह समयमै बजेट ल्याउने गरेका हुन् । तर पनि केही स्थानीय तहले भने विभिन्न विवादसहितका कारणले गर्दा बजेट समयमा सक्दैनन् र जुन यो पटक पनि दोहोरियो । यस्तो समस्या विगतका वर्षहरूमा पनि हुने गरेका थिए। तोकिएको समयमा बजेट ल्याउँदै असार मसान्तभित्र पास भएमा स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार