सर्लाही – धानको रोपाइँ सुरु हुनै लाग्दा मुलुकमा रासायनिक मलको अभाव हुने अघिल्ला वर्षको अवस्थालाई दोहोरिन नदिने गरी यसपालि तयारी मिलाइएको छ। वीरगन्ज नाका हुँदै धमाधम मल भित्रिंदै गर्दा मधेश प्रदेशका साथै अन्य प्रदेशका किसानले सहज रूपमा मल पाउने वातावरण बनेको छ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार, वीरगन्जस्थित गोदाममा अहिले युरिया, डिएपी र पोटास गरी करिब २० हजार मेट्रिक टन मल मौज्दातमा रहेको छ। साथै, विभिन्न कन्साइन्मेन्टमार्फत थप ४६ हजार मेट्रिक टन मल नेपाल भित्रिने प्रक्रियामा छ।

मल मौज्दात र आगमन विवरण
कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालयका अनुसार वीरगन्जमा ५,४५० मेट्रिक टन युरिया, १२,५०० मेट्रिक टन डिएपी र २,३४० मेट्रिक टन पोटास मौज्दातमा रहेको छ। सन इन्टरनेसनलले आपूर्ति गरिरहेको १६ हजार मेट्रिक टन युरिया मलमध्ये एक र्याक भर्खरै आइपुगेको छ भने ३० हजार मेट्रिक टन कोलकातामा लोडिङको तयारीमा छ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको मधेश प्रादेशिक कार्यालयले आपूर्ति गर्न लागेको १८ हजार मेट्रिक टन युरिया अन्तर्गतको पहिलो २,५०० मेट्रिक टन मल वीरगन्ज आइपुगेको छ। अर्को र्याक युरिया मंगलबार वा बुधबारसम्म भित्रिने तयारी छ। बाँकी मल पनि चरणबद्ध रूपमा ल्याइँदैछ।
ढुवानी र वितरण व्यवस्था
वीरगन्जबाट मधेश प्रदेशको कलैया, चपुर, नवलपुर, ढल्केबर, बागमती प्रदेशको सिन्धुली, काठमाडौं, धुलिखेल, हेटौँडा, भरतपुर, त्रिशूली र गण्डकी प्रदेशको पोखरा, पर्वत, दमौली लगायत स्थानसम्म मल ढुवानी हुँदै आएको छ। पर्सा र गोरखाका किसानलाई पनि वीरगन्जबाटै मल आपूर्ति गरिँदैछ।
कृषि सामग्री कम्पनीले आकस्मिक अवस्थाका लागि ४,००० मेट्रिक टन मल बफर स्टकका रूपमा राखेको छ, जुन आवश्यकता परे तुरुन्तै वितरण गर्न सकिने व्यवस्था मिलाइएको छ।
स्थानीय तहमा कोटा निर्धारण
प्रदेश सरकारले नै कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जमार्फत पर्साका १४ वटै पालिकालाई वितरण गरिने रासायनिक मलको कोटा निर्धारण गरेको छ ।
निर्धारित युरिया मल भने स्थानीय तहको सिफारिस लिएर आएका सहकारीलाई साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जबाट वितरण गरिने कर्पोरेसनको मधेश प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछाने जानकारी दिनुभयो ।





