सर्लाही – बाराको पथलैयामा बस चेकजाँचका क्रममा प्रहरीले लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ स्थायी घर भई हाल जीतपुर सिमरा उपमहानगरपालिका–६ मा बसोबास गर्दै आएका ५६ वर्षीय बच्चु कुमार बुढाथोकी रहेका छन्।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले आज साँझ नारायणघाटबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको यात्रुबाहक बसलाई पथलैया चोकमा रोकी जाँच गर्दा बुढाथोकीले बोकेको कालो झोलाबाट १ किलो ९३३ ग्राम चरेस फेला पारेको हो।

बाराका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार बुढाथोकीको साथबाट नेपाली ६० हजार ५ सय र भारतीय ३९ हजार २१७ रुपैयाँ समेत बरामद गरिएको छ। दुबै नगद रकमलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब १ लाख २३ हजार २ सय ४७ रुपैयाँ बराबर हुने प्रहरीको भनाइ छ।
पक्राउ परेका बुढाथोकीमाथि लागुऔषधसम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी बाराले जनाएको छ।





