मधेसमा उद्योग व्यवसाय सबलीकरणका लागि उच्चस्तरीय समिति गठन, संयोजकमा मुख्यमन्त्री सिंह

२०८२ असार ११, बुधबार २१:०१
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेस प्रदेश सरकारले उद्योग तथा व्यापार क्षेत्रसँग जोडिएका समस्याको दीर्घकालीन समाधान, कानुनी सुधार र समन्वयका लागि मुख्यमन्त्री सतीशकुमार सिंहको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार गठित समितिमा सरकारका प्रमुख नीतिगत निकायदेखि निजी क्षेत्रका प्रतिनिधिसम्मको समावेश गरिएको छ।

समितिमा प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मदन भुजेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साहलगायत सम्बन्धित मन्त्रालयका सचिवहरू सदस्य रहेका छन्।

यसैगरी, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, महासङ्घका उपाध्यक्ष जितेन्द्र महासेट, होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हिरालाल गौतम, सीएनआई मधेस प्रदेश अध्यक्ष प्रमोद शाह तथा वस्तुगत सङ्घका प्रतिनिधि सुधिर अग्रवाल सदस्यका रूपमा समितिमा रहेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवले तोकेको मन्त्रालयका अधिकृत स्तरका कर्मचारी समितिको सदस्य–सचिव हुने व्यवस्था छ। सरकारले समितिबाट व्यावसायिक कार्य योजना र नीतिगत सिफारिसहरू प्राप्त गरी उद्योग तथा व्यवसाय क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने र लगानीमैत्री वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार