सर्लाही – झण्डै डेढ वर्षपछि वीरगन्ज नाकामा पुनः कोरोना संक्रमण देखिएको छ। भारतबाट नेपाल प्रवेश गर्ने क्रममा वीरगन्ज–१६ स्थित शंकराचार्य गेटमा रहेको कोभिड हेल्थ डेस्कमा दुई भारतीय बालकमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाका अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिएका छन्।
ठाकुरका अनुसार असार ३ गते भारतको बिहार राज्यको छौडादानोबाट आएका १४ वर्षीय बालक र असार ७ गते मोतिहारी जिल्लाको पिपराका क्षेत्रबाट आएका १४ वर्षीय अर्का बालकमा कोरोना संक्रमण पुष्टि भएको हो। दुवैजनालाई संक्रमण देखिएपछि नेपाल प्रवेश गर्न नदिई भारततर्फ नै फर्काइएको उनले बताए।

भारतका विभिन्न राज्यमा पछिल्लो समय पुनः कोरोना संक्रमण देखिन थालेसँगै वीरगन्ज नाकामा हेल्थ डेस्कमार्फत सतर्कता बढाइएको छ। विशेषगरी भारतबाट लामो यात्रा गरी नेपाल प्रवेश गर्नेहरूमा स्वास्थ्य परीक्षण गरिँदै आएको ठाकुरले बताए।
“स्क्रिनिङका क्रममा रुघाखोकी वा ज्वरोजस्ता लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षण गरिन्छ,” ठाकुरले भने, “तीन दिनको अन्तरमा दुई संक्रमित भेटिनुले सतर्क रहन आवश्यक देखिएको छ।”
यसअघि वीरगन्ज नाकामा २०७९ पुस २६ गते एक नेपाली र एक भारतीय गरी दुई जनामा अन्तिमपटक कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले पुनः संक्रमण देखिएपछि नाकामा संक्रमण नियन्त्रणका उपायहरू कडाइ गरिँदैछन्।





