सर्लाही – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगर प्रहरी चौकी अगाडिको मुख्य सडकमा मंगलबार दिउँसो चेकजाँचको क्रममा लागूऔषध बोकेको अवस्थामा दुई जना युवक पक्राउ परेका छन्।
मधेश प्रदेश ०३–००१ ह. २२२१ नम्बरको यात्रुबाहक ट्याम्पोलाई त्रिभुवननगर बजारदेखि भेल्हीतर्फ गइरहेको अवस्थामा प्रहरी टोलीले दिउँसो १ बजेतिर रोकी जाँच गर्दा चितवन भरतपुर महानगरपालिका–२४, का १९ वर्षीय अनिस बिक र ऐरावतीका १९ वर्षीय सन्देश परियारको साथबाट ठूलो परिमाणमा नाइट्राजेपाम ट्याब्लेट बरामद भएको हो।

प्रहरीका अनुसार अनिस बिकको साथबाट ५ पत्ता (५० ट्याब्लेट) र सन्देश परियारको साथबाट पनि ५ पत्ता (५० ट्याब्लेट) नाइट्राजेपाम फेला पारिएको थियो। साथै उनीहरूले बोकेको रातो झोलाबाट थप ११० पत्ता अर्थात् १,१०० ट्याब्लेट लुकाई छिपाई राखिएको अवस्थामा भेटिएको थियो। यसरी उनीहरूको साथबाट जम्मा १,२०० थान नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको प्रहरीको भनाइ छ।
बरामद गरिएका लागूऔषधसहित दुबै युवकलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरी चौकी त्रिभुवननगरले जनाएको छ। प्रहरीले लागूऔषधको स्रोत र वितरण सञ्जालबारे थप अनुसन्धान अगाडि बढाएको बताएको छ।





