सर्लाही – भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएका पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार नेपाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
बिहीबार बिहान ११ बजे कानुनी प्रतिनिधिहरूसहित अदालतमा उपस्थित भएका नेपालका पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोविन्द बन्दी र खमबहादुर खातीले बहस गरेका थिए। अर्कोतर्फ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त नेतृत्वको कानुनी टोलीले बहस प्रस्तुत गरेको थियो।

अख्तियारले जेठ २२ गते नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको थियो। आयोगले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो र सजाय माग दाबी गरेको छ। पूर्वप्रधानमन्त्री नेपाललाई अदालतबाट धरौटीमा रिहा गरिए पनि मुद्दा पूर्णरूपमा टुंगो लाग्न बाँकी छ। अदालतमा अब बहस र सुनुवाइको क्रम जारी रहनेछ।





