मधेस प्रदेश सरकारको बजेट: राउतले भने–बिचौलियाका योजना राखियो, हाम्रो पार्टीका योजनाहरू हटाइयो

२०८२ असार १२, बिहीबार ०७:०३
file image

सर्लाही – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस प्रदेश सरकारको बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन्। उनले प्रदेशको बजेटमा दीर्घकालीन र भिजनरी योजनाहरू हटाएर बिचौलियाका योजना थुपारिएको आरोप लगाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष राउतले प्रदेशको समग्र विकासका लागि जनमत पार्टीले प्रस्तुत गरेको रोडम्यापलाई बेवास्ता गरिएको बताएका छन्। आफ्नै पार्टी नेतृत्वमा सरकार चलिरहेका बेला जनताको हितका दीर्घकालीन योजनाहरू नदेखिएकोमा उनले गहिरो आपत्ति जनाएका हुन्।

उनले लेखेका छन्, “सङ्घीयताको उपलब्धि ठूला पूर्वाधार हुन्—कर्णाली प्रदेश अस्पताल वा रङ्गशालाजस्ता। तर मधेस प्रदेशको बजेटमा अझै पनि ५–१० लाखका टुक्रे योजनाहरूको भीड छ।”

राउतले प्रदेश सरकारको प्राथमिकता बिचौलियामुखी योजनातर्फ गएको आरोप लगाउँदै जनभावना र आवश्यकता अनुसारका कार्यक्रमलाई पाखा लगाइएको बताएका छन्। “जनमत पार्टीले समग्र विकासको खाका पेश गर्दा पनि नाम मात्रका योजनामा बजेट छुट्याइएको छ,” उनले उल्लेख गरेका छन्।

सङ्घीयताको औचित्यप्रति जोड दिँदै उनले भनेका छन्, “सङ्घीयता नभएको भए यस्तै योजना पास गराउन पनि सिंहदरबार धाउनु पर्थ्यो।” राउतले बजेट निर्माणमा देखिएको सोचको खाँचोलाई गम्भीर राजनीतिक विषय भन्दै पार्टी र संसदीय दलमा आवश्यक छलफल हुने चेतावनीसमेत दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार