मधेशमा बजेट छलफल अनिश्चितकालका लागि स्थगित, पाँच दलको बहिष्कारको तयारी

२०८२ असार १२, बिहीबार १६:१५

सर्लाही – मधेश प्रदेश सभामा बजेटमाथिको छलफल अचानक स्थगित भएपछि पाँच राजनीतिक दलले संयुक्तरूपमा छलफल बहिष्कार गर्ने तयारी थालेका छन्। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सोही दिन १२ बजे सूचना जारी गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो।

बुधबार मात्रै सुरु भएको बजेटमाथिको छलफलमा प्रतिपक्षी सांसद रामआशिष यादव र सत्तापक्षीय सांसद रमिता प्रधान मात्र सहभागी भएका थिए। अन्य सांसदहरू सहभागी नहुँदा सभामुख रामचन्द्र मण्डलले ‘रेडबुक’ अध्ययन नगरेको भन्दै बैठक बिहीबारसम्मका लागि स्थगित गर्ने घोषणा गरेका थिए। तर, तय भएको कार्यतालिका हुँदाहुँदै बैठक अनिश्चितकालका लागि रोकिएपछि असन्तोष चुलिएको छ।

सभामुख मण्डलले कार्य व्यवस्था परामर्श समितिको निर्णयविपरीत एकतर्फी निर्णय लिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक रामआशिष यादवले तीव्र आपत्ति जनाए। उनले सरकारको कठपुतलीझैं व्यवहार गरेको आरोप लगाउँदै बजेट छलफल बहिष्कारको घोषणा गरेका छन्।

एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेलले पनि सभामुखले संसदीय अभ्यासमाथि प्रहार गरेको प्रतिक्रिया दिएका छन्। “संसदलाई बन्दी बनाउने अधिकार कसैलाई छैन,” पटेलले भने, “नियमित सत्र स्थगन गर्ने अधिकार सरकारसँग छैन, केवल अधिवेशन सुरु वा अन्त्य गर्ने मात्र अधिकार हो।”

अबको बजेट छलफलमा माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राप्रपा र नेपाल संघीय समाजवादी पार्टी सहभागी नहुने तयारीमा छन्। यसैबीच बिचौलिया र दलाललाई प्राथमिकता दिएर बजेट तयार पारिएको आरोप पनि विपक्षी सांसदहरूले लगाएका छन्। संसदीय अभ्यास र लोकतान्त्रिक प्रक्रियामाथि ठुलो प्रश्न उठेको भन्दै दलहरूले दबाबमूलक रणनीति अपनाउने संकेत गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार