सर्लाही – सिरहा र धनुषा जिल्लालाई जोड्ने महत्वपूर्ण कमला नदीमाथि निर्माणाधीन अवस्थामा अलपत्र परेको पुल निर्माण कार्य अघि बढाउन मधेस प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०८२/८३ का लागि रु १ करोड बजेट विनियोजन गरेको छ।
पुल निर्माणको प्रक्रिया १४ वर्षअघि सुरु भए पनि विभिन्न अवरोधले काम अलपत्र पर्दै आएको थियो। वर्षायाममा पुल नहुँदा स्थानीयवासीहरू जोखिम मोलेर बाँसको अस्थायी संरचनाबाट नदी पार गर्दै आएका थिए।

मुख्यमन्त्री सतिशकुमार सिंहको सक्रिय पहलमा यो योजना बजेटमा समावेश गरिएको हो। उनले भने, “कमला नदीमा पुल निर्माण गर्नु धनुषा र सिरहा मात्रै होइन, सिङ्गो मधेस प्रदेशकै आवश्यकता हो। हामी यो कार्य दृढताका साथ अघि बढाउँछौँ।”
मुख्यमन्त्री सिंहले प्रारम्भिक चरणका लागि रकम विनियोजन गरिएको भए पनि पूर्ण निर्माणका लागि आवश्यक बजेट चरणबद्ध रूपमा थपिने जानकारी दिए।
सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले बजेट स्वागतयोग्य भए पनि अपर्याप्त भएको बताए। “थोरै बजेट राखेर भएपनि योजना अघि बढाउनु सकारात्मक हो, तर सङ्घीय सरकारको पनि सहयोग आवश्यक छ,” उनले भने।
विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको पुल निर्माणले गति लिने संकेत दिँदा स्थानीयमा आशा पलाएको छ। अब यो योजना वास्तविक निर्माणसम्म पुग्ने कि फेरि अलपत्र नै रहने हो भन्ने प्रश्न भने अझै बाँकी छ।





