मलंगवामा हुलाकी सडक वर्षौंदेखि अलपत्र

२०८२ असार १३, शुक्रबार ०७:२२

मलंगवा – जिल्ला सदरमुकाम समेत रहेको मलंगवा नगरपालिका – ८ स्थित राजश्री सिनेमा हलदेखि वडा नम्बर २ को कृष्णा चोकसम्म पुग्ने हुलाकी सडकको निर्माण कार्य वर्षौंदेखि अलपत्र परेको छ। पटक–पटक ठेक्का पाएका निर्माण व्यवसायीले काम सुरु गरे पनि बीचमै छाडेर जाने प्रवृत्तिले गर्दा सडक आजसम्म पनि पूरै निर्माण सम्पन्न हुन सकेको छैन।

स्थानीयबासीका अनुसार कामको सुरुआत उत्साहका साथ हुने तर केही महिनामै काम रोकिँदा सडक प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेको छ। हुलाकी मार्ग हुँदै दैनिक दर्जनौं सवारीसाधन चल्ने भए पनि सडकको दुर्दशाका कारण यात्रु तथा चालकहरूलाई जोखिम मोलेर यात्रा गर्नुपरेको छ।

पानी परेको बेला सडक हिलाम्य हुने र सुख्खा मौसममा धुलो उड्ने समस्याले स्थानीयको जनजीवन प्रभावित भएको छ। ‘वर्षौंदेखि यो सडक यस्तो अवस्थामा छ,’ स्थानीयवासी रमेश यादव भन्छन्, ‘ठेकेदारले काम सुरु गर्छ, केही दिन काम गर्छ, अनि बिचमै छाडेर जान्छ। हामीले गुनासो गर्दा पनि कुनै सुनुवाइ हुँदैन।’

स्थानीय निकाय तथा सम्बन्धित निरीक्षण गर्ने सरकारी निकायहरूको उदासीनता र कमजोरीले ठेकेदार कम्पनीहरूलाई मनोमानी गर्ने छुट दिइरहेको देखिन्छ। जिम्मेवारी बाँकी रहेका निकायहरू कागजी कारबाहीमा सीमित हुँदा ठेकेदारहरू सजिलै उम्किरहेका छन्।

स्थानीयहरू सडक शीघ्र सम्पन्न गर्न माग गर्दै आएका छन्। यदि छिट्टै ध्यान नदिइए सडक समस्या मात्र होइन, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जोखिम समेत बढ्ने चेतावनी उनीहरूले दिएका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार