सर्लाही – सर्लाहीको सबैभन्दा सानो भूभाग भएको पर्सा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३४ करोड ३१ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। असार १० भित्र बजेट ल्याउनुपर्ने कानुनी म्याद भए पनि आन्तरिक असहमतिको कारण गाउँसभा ढिलो गरी असार १३ गते सम्पन्न भएको हो।
शुक्रबार सम्पन्न १५ औँ गाउँसभामा पालिकाका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। बजेट कृषि, सिँचाइ, शिक्षा, स्वास्थ्य, सडक र भौतिक पूर्वाधारमा केन्द्रित गरिएको छ। गाउँसभामा उपाध्यक्ष नुतन देवी र सबै वडाध्यक्षहरूको उपस्थिति रहेको थियो।

गाउँसभाको प्रमुख आतिथ्य मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायले गर्नुभएको थियो। कार्यक्रममा हरिपूर्वा नगरप्रमुख विनोदकुमार साह तेली र कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख पुष्पराज गुरागाईंको पनि विशेष उपस्थिति थियो।
सर्लाहीका अन्य १९ स्थानीय तहले भने समयमै बजेट पारित गरिसकेका छन्। पर्सा गाउँपालिकामा भने बजेट बाँडफाँडको विषयमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षबीचको सहमति ढिला भएपछि कानुनी म्याद नाघेर गाउँसभा सम्पन्न गर्नुपरेको हो।





