एसईई २०८१ को नतिजा सार्वजनिक : ४८ हजारले पाए ३.६ माथिको जिपिए, ६१.८१ प्रतिशत उत्तीर्ण

२०८२ असार १३, शुक्रबार १९:५६
सांकेतिक तस्बिर

सर्लाही – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा अन्ततः शुक्रबार साँझ सार्वजनिक गरिएको छ। भक्तपुरस्थित राष्ट्रिय परीक्षा बोर्डमा बसेको बैठकपछि बोर्डले राति ७:३० बजे नतिजा सार्वजनिक गरेको हो।

यद्यपि बोर्डले साढे ५ बजेसम्म नतिजा प्रकाशित गर्ने बताएको भए पनि बैठक ढिलाइ हुँदा नतिजा सार्वजनिक हुन समय लागेको हो। बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा ४ लाख ३१ हजार ४६६ नियमित र ६७ हजार ७१५ ग्रेडवृद्धि गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

सार्वजनिक नतिजाअनुसार ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ पुगेको छ भने ३.२ देखि ३.६ जिपिए समूहमा ८१ हजार ३८५ परीक्षार्थी परेका छन्। कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन्।

नतिजा प्रकाशन अघि बोर्डमा दिउँसो १२:३० बजे पहिलो बैठक बसेको थियो जसमा प्राविधिक पक्षहरूको परीक्षण गरिएको थियो। त्यसपछि साँझ ५:४५ बजे सुरु भएको दोस्रो बैठकले अन्ततः राति नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। यसअघि एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार