विद्यालय ब्यवस्थापन समितिको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

२०८२ असार १३, शुक्रबार २२:०६

बारा – बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१, जमुनियामा अवस्थित श्री नेरा आधारभूत विद्यालयमा शुक्रबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजनामा तथा नगर आँखा अस्पताल, सिम्रौनगढको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा २५० जना विद्यार्थीले आँखा परीक्षण गराएका छन्।

विद्यालय परिसरमै सञ्चालित उक्त स्वास्थ्य सेवामा बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. दिलीप कुमार यादव नेतृत्वको टोलीले परीक्षण सेवाहरू प्रदान गरेको थियो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष नूर आलम बादशाहका अनुसार गर्मी याममा आँखा लगायतका स्वास्थ्य समस्या देखा पर्ने भएकाले समयमै परीक्षण र सचेतना आवश्यक भएकै कारण यो शिविरको आयोजना गरिएको हो।

“सामान्य समस्याले पनि गम्भीर रूप लिन सक्छ, त्यसैले विद्यालयमै आएर विशेषज्ञ टोलीबाट आँखा परीक्षण गराउनु विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण कदम हो,” अध्यक्ष बादशाहले बताए। शिविरमा परीक्षण गरिएका केही विद्यार्थीलाई थप उपचार सिफारिस गरिएको र अन्यलाई आवश्यक सावधानीबारे जानकारी दिइएको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार