उखु अनुदान कटौती नगर्न कांग्रेस सर्लाहीको माग, कृषिमन्त्रीसमक्ष ज्ञापनपत्र

२०८२ असार १४, शनिबार १२:४२

सर्लाही – नेपाली कांग्रेस सर्लाहीले उखु किसानका लागि दिइँदै आएको अनुदान कटौती नगर्न सरकारलाई आग्रह गर्दै संघीय सरकारका कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ।

जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहको नेतृत्वमा काठमाडौं पुगेको कांग्रेस टोलीले कृषि मन्त्री रामनाथ अधिकारीलाई भेटी अनुदानको निरन्तरताको माग गर्दै ज्ञापनपत्र बुझाएको हो। टोलीमा पार्टीका अन्य स्थानीय नेताहरूको पनि सहभागिता रहेको थियो।

कांग्रेस सर्लाहीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु किसानका लागि विनियोजित अनुदान रकम कटौती गरिएकोप्रति आपत्ति जनाउँदै सो निर्णयले किसानको जीवनस्तरमा प्रतिकूल असर पार्ने स्पष्ट पारेको छ। साथै, सरकारले विगत वर्षको बाँकी अनुदान पनि तुरुन्तै किसानको खातामा जम्मा गरिदिनुपर्ने माग राखेको छ।

पार्टीका सचिव निरज कार्कीका अनुसार मन्त्री अधिकारीले गत वर्षको १ अर्ब ३९ करोड अनुदान रकममध्ये एक हप्ताभित्र ८० करोड किसानको खातामा पठाउने र बाँकी रकम पनि चाँडै निकासा गरिने आश्वासन दिएका छन्।

त्यस्तै, कांग्रेसले चालु वर्षका लागि उखुको समर्थन मूल्य समयमा निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार