सर्लाही – सिन्धुलीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै तीनजनालाई नियन्त्रणमा लिएको छ। कमलामाई नगरपालिका–९, भिमानस्थित बीपी राजमार्गमा गरिएको सवारी चेकजाँचका क्रममा लागुऔषध बोकेर यात्रा गरिरहेका एक युवक पक्राउ परेपछि थप अनुसन्धान हुँदै काठमाडौं पुगेर दुई जना कारोबारी पक्राउ परेका हुन्।
बर्दिवासबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०४२–००१ ज ०१५५ नम्बरको इभी भ्यान चेकजाँचका क्रममा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–७ का ३० वर्षीय विक्रम चौधरीलाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार भ्यानको छतमा राखिएको जुटको बोराभित्र २९ हजार थान ट्रामाडोल र २ हजार ८ सय ८० थान नाइट्राभेट ट्याब्लेट फेला परेका थिए।

विक्रम चौधरीको प्रारम्भिक बयानका आधारमा लागुऔषधका मालिक ठहरिएका सिन्धुपाल्चोकको ठुलोपाखर गाउँपालिका–६ का २६ वर्षीय सफल श्रेष्ठ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ का २६ वर्षीय राहुल तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, लागुऔषध ओसारपसारमा संलग्न गिरोहविरुद्ध थप अनुसन्धान भइरहेको छ।





