नयाँ एम्बुलेन्ससहित रामनगरको जनस्वास्थ्यमा सुधारको अपेक्षा

२०८२ असार १५, आईतवार १६:१५

रामनगर – सर्लाहीको रामनगर गाउँपालिकाले स्थानीय बासिन्दाको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै एम्बुलेन्स खरिद गरिएको हो।

गाउँपालिका अध्यक्ष राजाबाबु यादवले एम्बुलेन्स सञ्चालनमा आएपछि टाढा टाढाबाट बिरामी ल्याउन र आकस्मिक अवस्थामा छिटो स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो। उनका अनुसार “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो, यसलाई अझ व्यवस्थित, सहज र सर्वसुलभ बनाउने हाम्रो लक्ष्य हो। नयाँ एम्बुलेन्सले यस अभियानमा ठूलो टेवा पुर्‍याउनेछ।”

यसअघि पालिकामा एम्बुलेन्सको पहुँच नहुँदा ग्रामीण भेगका बिरामीहरूलाई समयमै उपचारका लागि स्वास्थ्य केन्द्रसम्म पुर्‍याउन कठिनाइ हुने गरेको थियो। खासगरी रातको समयमा वा आकस्मिक अवस्थाहरूमा उपचार ढिलो हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर परेको थियो। अब भने नयाँ एम्बुलेन्स सेवाले ती समस्याहरूलाई धेरै हदसम्म समाधान गर्ने अपेक्षा गरिएको छ।

स्थानीय नागरिक, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले एम्बुलेन्स सेवा सुरू भएकोमा खुशी व्यक्त गरेका छन्। नागरिकहरूले स्वास्थ्य क्षेत्रमा गरिएको लगानीलाई प्रत्यक्ष जीवनसँग जोडिएको सकारात्मक पहलका रूपमा लिएका छन्। यो नयाँ एम्बुलेन्स केवल यातायातको साधन मात्र नभई गाउँपालिकाका जनताको जीवन रक्षाको महत्वपूर्ण साधन बन्ने आशा गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार