कामको खोजीमा मृत्युको यात्रा, सप्तरीका २४ युवा फर्किए बाकसमा

२०८२ असार १६, सोमबार ०८:५७

सर्लाही – घरपरिवारको पालनपोषण र जीवन सुधार्ने सुनौलो सपना बोकेर विदेशिएका सप्तरीका २४ युवाको कथा अब स्मृतिमा सीमित भएको छ। रोजगारीको खोजीमा परदेशिएको ति युवा सुरक्षित फर्कन सकेनन्क तिपय बाकसमा फर्किए भने केही अझैसम्म बेपत्ता छन्।

सप्तरी जिल्लाबाट आर्थिक वर्ष २०८१/८२ को जेठसम्ममा १७ हजार १ सय २२ युवा वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए। तीमध्ये १६ हजार ८९३ पुरुष र २२९ महिला छन्। यो संख्यामध्ये २४ जनाको मृत्यु भइसकेको छ भने ५९४ जना वैदेशिक रोजगारको नाममा ठगीमा परेका छन्।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक राजेन्द्र कुमार यादवका अनुसार खडक नगरपालिका, तिरहुत र रुपनी गाउँपालिकाका तीन–तीन; डाक्नेश्वरी, हनुमाननगर कंकालिनी, कंचनरुप, महादेवा र बलान बिहुलका दुई–दुई; र राजविराज, सप्तकोशी, शम्भुनाथ, राजगढ तथा तिलाठी कोइलाडीका एक–एक युवाको वैदेशिक भूमिमा मृत्यु भएको छ।

राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा संयोजक यादवले विगत एक वर्षमा ५९४ जनाले ठगी व्यहोरेको र तीमध्ये २४१ जनालाई न्याय दिलाउन सफल भएको बताए। बाँकी पीडितका हकमा समेत पहल भइरहेको उनले जानकारी दिए।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै सप्तरीबाट १२ हजार ५५७ जना विदेशिएका थिए। जसमध्ये १२ हजार ३९४ पुरुष र १६३ महिला थिए। यो संख्या वर्षैपिच्छे बढिरहेको देखिन्छ। “देशमै रोजगारीको अभाव र वैदेशिक रोजगारको नाममा भइरहेको ठगीले हाम्रो समाजमा पीडा मात्र थपिएको छ,” संयोजक यादवले भने।

उहाँले वैदेशिक रोजगारीमा जानेलाई आवश्यक सीप र सूचना दिनु आजको आवश्यकता भएको उल्लेख गर्दै सञ्चारकर्मीहरुले पनि यस्ता विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राख्नुभयो। सञ्चारको प्रभावकारिताले थुप्रै पीडितले राहत पाएको उदाहरण पनि उहाँले प्रस्तुत गर्नुभयो।

विदेश जाने सपना देख्ने नेपाली युवाका लागि यो आँकडा केवल तथ्य मात्र होइन, यो चेतावनी हो। उचित तयारी, सही सूचना, र राज्यको जिम्मेवार प्रणाली नहुँदासम्म वैदेशिक रोजगार अवसर नभई जोखिम बन्ने देखिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार