सर्लाही – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो एक महिनामा अभूतपूर्व संख्यामा दर्जा बढुवा गरेको छ। वरिष्ठ सइदेखि सहायक हवल्दारसम्म गरी कुल २,१९६ जना सुरक्षाकर्मीलाई पदोन्नति दिइएको छ।
सशस्त्र प्रहरी बलका अनुसार, बढुवा भएका मध्ये ११ जना सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ), ३४ जना सइ, र लेखा उपसमूहतर्फ ६ जना सइ रहेका छन्। त्यस्तै ६०३ जना वरिष्ठ हवल्दार, ७५९ जना हवल्दार र ७८३ जना सहायक हवल्दारको बढुवा गरिएको छ।

बढुवाको प्रक्रिया जेठ १९ गते सूचना जारी गर्दै सुरु गरिएको थियो। उक्त सूचनामा साधारण समूह तथा लेखा उपसमूह अन्तर्गतको वरिष्ठ सइ र सइ पदका लागि १० दिनभित्र र वरिष्ठ हवल्दार, हवल्दार तथा सहायक हवल्दार पदका लागि १५ दिनभित्र फारम बुझाउन भनिएको थियो।
बढुवाका लागि उम्मेदवारहरुले शैक्षिक योग्यताको प्रमाणपत्र तथा आवश्यक कागजात संलग्न गरेर बढुवा समितिको सचिवालयमा पेश गरेका थिए। सशस्त्र प्रहरी बलका सह-प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार हाल खाली रहेका अन्य दर्जाहरूमा समेत चाँडै बढुवा प्रक्रिया अघि बढाइनेछ।





