राष्ट्रिय खेलकुद नीति- २०८२ सार्बजनिक

२०८२ असार १६, सोमबार १९:२३

सर्लाही – खेलकुद क्षेत्रको समग्र विकास, स्वच्छ अभ्यास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सशक्त उपस्थिति सुनिश्चित गर्ने लक्ष्यसहित राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले सोमबार सार्वजनिक गरेको यो नीति असार ९ गतेको मन्त्रिस्तरीय बैठकले स्वीकृत गरेको हो।

नयाँ नीतिले खेलकुदलाई नेपाली जनजीवनको अभिन्न हिस्सा बनाउँदै स्वस्थ, सक्षम र अनुशासित जनशक्ति निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ। यसका साथै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी खेल पूर्वाधार र कार्यक्रम विस्तार गर्ने, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै खेल क्षेत्रमा व्यावसायिकता ल्याउने पनि नीति अन्तर्गतका मूल उद्देश्य हुन्।

परम्परागत, साहसिक र पर्वतीय खेलमार्फत पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुर्‍याउने योजना छ। प्रविधि र नवीन अभ्यासलाई समेटेर खेल प्रणालीलाई पारदर्शी, स्वस्थ र नतिजामुखी बनाउने र अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको उपस्थिति बलियो बनाउने लक्ष्य पनि यस नीतिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।

नीतिमा ६ उद्देश्य, १४ नीति, २२ रणनीति र ९२ कार्यनीतिहरू समावेश छन्। त्यसको कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रिय खेलकुद अनुगमन समिति गठन गर्नेछ भने तीनै तहका सरकारहरूले आफ्नो अधिकार क्षेत्रभित्र मूल्यांकन गर्न सक्ने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार