सर्लाही – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ नितनपुरस्थित एक उद्योगमा सामान्य भनिएको विवादले हिंसात्मक रूप लिँदा एक मजदुरको मृत्यु भएको छ। पर्सा जिल्लाको पोखरिया नगरपालिका–१, बनकटवाका ३५ वर्षीय गोपी बैठाको मृत्यु भएको हो।
शनिबार वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत रहेको बजरंगवली आयल इन्डस्ट्री (चक्की फ्रेश आटा) मा काम गर्ने मजदुरहरूबीच भनाभन पछि कुटाकुट भएको थियो। सोही क्रममा गम्भीर घाइते भएका बैठाको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा उद्योगमै कार्यरत भारत, राजस्थानका तेजपाल सिंह राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछपछि घटनामा संलग्न भनिएका अन्य दुई भारतीय मजदुरलाई भने रिहा गरिएको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
मृतकका दाइ कृष्णकुमार बैठाले भने भाइमाथि योजनाबद्ध रूपमा आक्रमण भएको दाबी गरेका छन्। “उद्योगमै काम गर्ने भारतीय मजदुरहरूको समूहले मेरो भाइलाई घेराबन्दी गरेर कुटपिट गरेको थियो,” उनले आरोप लगाए।
कुटपिटपछि आफूमाथि हमला भएको जानकारी गोपीले फोनमार्फत दिएको र त्यसपछि तुरुन्तै उद्योग पुगेर उनलाई वीरगन्जको ब्योधा अस्पतालमा भर्ना गरिए पनि उपचार सम्भव नदेखिएपछि अन्यत्र लैजाँदै गर्दा बाटोमै मृत्यु भएको कृष्णकुमारले बताए।
यता, प्रहरी भने घटनाको तथ्य प्रष्ट पार्न अझै अनुसन्धानमा जुटिरहेको छ। डीएसपी जोशीका अनुसार मृतकले कुटपिटपछि विष सेवन गरेको आशंका समेत गरिएको छ। “घटनास्थल पुग्दा मृतक निकै आक्रोशित अवस्थामा थिए, उनको दाहिने कुहिनोमा चोट लागेको देखिएको छ,” जोशीले बताए।
उनले मृत्युको कारण विष सेवन हो कि कुटपिट भन्ने प्रष्ट यकिन पोष्टमार्टम रिपोर्टपछि मात्र हुने जनाए। “जो दोषी छन्, उनीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिनेछ,” डीएसपी जोशीले प्रतिबद्धता व्यक्त गरे।





