गोडैता – गोडैता नगरपालिका–८ स्थित श्री बेणि भोला नमूना माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अघिल्ला वर्षको तुलनामा उल्लेख्य सुधार हासिल गर्दै शिक्षाको गुणस्तरमा आशालाग्दो प्रगति देखाएको छ।
विद्यालयका अनुसार २०८१ सालको एसईई परीक्षामा सहभागी भएका २३८ जना मध्ये ७७ जना विद्यार्थी सफल भएका छन्। जसमध्ये २ जनाले ‘ए’ ग्रेड हासिल गरेका छन्।

विद्यालयमा सञ्चालन हुँदै आएको प्राविधिक धारातर्फको कम्प्युटर इन्जिनियरिङ विषयमा ३५ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये २८ जना विद्यार्थीले सफलता हासिल गरेकाले प्राविधिक शिक्षातर्फको नतिजा अपेक्षाकृत उत्कृष्ट देखिएको छ।
त्यस्तै, सामान्य (शिक्षा) धारातर्फ २०३ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमध्ये ४९ जना उतिर्ण भएका छन्। विद्यालयको अघिल्लो वर्षको तथ्यांक अनुसार, २६३ जना विद्यार्थीले परीक्षा दिएका थिए भने ७७ जनाले मात्रै सफलता पाएका थिए। यद्यपि, त्यसबेला ४ जनाले ‘ए’ ग्रेड प्राप्त गरेका थिए।
शैक्षिक संस्थाको निरन्तर सुधार प्रयास र व्यवस्थापनको सक्रियताले यो वर्षको नतिजा सकारात्मक दिशामा उन्मुख भएको देखिएको छ। विद्यालयका शिक्षक, अभिभावक तथा शिक्षा प्रेमीहरुले आगामी दिनमा अझै राम्रो नतिजा ल्याउने अपेक्षा व्यक्त गरेका छन्।
विद्यालय प्रशासनका अनुसार अब शिक्षण पद्धति सुधार, अतिरिक्त कक्षाको विस्तार, समयपालनाको कडाइ र विद्यार्थीमा आत्मविश्वास जगाउने खालका क्रियाकलापमा ध्यान दिइनेछ। शैक्षिक क्षेत्रमा देखिएको यो सुधार गोडैता नगरपालिका र वरपरका अभिभावकबीच विद्यालयप्रतिको विश्वास अझ बलियो बनाउने संकेतका रूपमा हेरिएको छ।





